डा. सवन जोशी
‘गरिमा’ पत्रिका २०६८ मङ्सिर
Sawan Joshi (PHD)
(Sitarist & Music Researcher)
Published in GARIMA Magazine, 2012 December
नेपालमा शास्त्रीय संगीत अस्तित्व र पहिचानको खोजीमा
नेपालमा शास्त्रीय संगीतको परम्परा निकै पुरानो रही आएको पाइन्छ । यो संगीत नेपालको पहिचान बोकेको कला पनि हो । यद्दपी समयको अन्तरालमा आज यसको अस्तित्व र पहिचानमा सङ्कत र समस्या उत्पन्न हुन थालिसकेको अवस्था छ । शास्त्रीय संगीतको अस्तित्व रक्षा र पहिचानको खोजीमा अब आजका नयाँ पुस्ताले चासो दिनु पर्ने खाचो देखिसकेको छ ।
नेपालमा शास्त्रीय संगीत भनेर लिछबिकालिन तथा मल्लकालीन परंपरागत संगीतलाई पनि लिने गरिन्छ| तर यहाँ उल्लेख गर्न लागेको शास्त्रीय संगीत १३औं सताब्दीदेखि मुसलमान संस्कृति र हिन्दुसंस्कृतिको समिश्रणबाट बिकसित हुदै आएको उत्तरभारतीय शास्त्रीय संगीत जसलाई हिन्दुस्तानी शास्त्रीय संगीत भनेर पनि भन्ने गरिन्छ त्यसैको बारेमा चर्चा गर्ने प्रयास गर्न खोजेकोछु| हिन्दुस्तानी शास्त्रीय संगीत भन्नाले सितार, सरोद, हार्मोनियम,तबला आदि जस्ता बाजाहरु, त्यसैगरी, ध्रुपद, खयाल, ठुमरी, गजल, भजन , कब्बाली आदि जस्ता गायन शैली यस संगीत अन्तर्गत पर्दछन जुन बिभिन्न्न राग तथा तालहरुमा संयोजन गरेर गाउने या बजाउने गरिन्छ| हिन्दुस्तानी शास्त्रीय संगीत पुर्बेली संस्कृति अन्तर्गत दक्षिण एसियाकै प्रतिनिधित्व गर्ने शास्त्रीय संगीत हो जुन नेपालमा पनि सताप्दीयौंदेखि चल्दै आएकोछ| र यसलाई आज पनि नेपालमा आफ्नै शास्त्रीय संगीतको रुपमा यहाँका कलाकारहरुले विभिन्न तरिकाले प्रस्तुत गरी यस परम्परालाई जोगाउदै आएका छन्| बाहिरी मुलुकमा यसलाई नर्थ इन्डियन क्लासिकल म्युजिक भनेर पनि चिनिने गरिन्छ तर हामी यसलाई हाम्रो मुलुकभित्र सिर्फ शास्त्रीय संगीत मात्र भन्ने गर्छौ| पुस्तौंदेखि चलिआएको हिसाबले हामी यसलाई हाम्रो देशको कला सम्पदाको रुपमा पनि लिन्छौं| यस बाहेक नेपालमा यसको आफ्नै इतिहास छ, छुटै योगदान , अस्तित्व र महत्व पनि छ|
तर हिजोआज शास्त्रीय संगीतका नेपाली कलाकारहरुलाई एउटा अस्तित्व र पहिचानको समस्या आएकोछ| किनभने स्वदेशमा हामी यसलाई आफ्नै शास्त्रीय संगीत भनेर जति परम्परा धाउदै आएपनि बिदेसमा यहाका कलाकारहरुले यही शास्त्रीय संगीत प्रस्तुत गर्दा भने भारतीय संगीत कै रुपमा हेर्ने गरिदो रहेछ| यसरी एक नेपाली कलाकारले नेपाली संगीतको रुपमा शास्त्रीयसंगीतको कार्यक्रम प्रस्तुत गर्दा त्यो भारतीय संगीतकोरुपमा श्रोताले ठानीदिंदा, देशको प्रतिनीधिगर्दै आफ्नो कला प्रदर्शन गर्ने कलाकारहरुको मन निराश हुने गर्दछ | यसरी बाहिरका मुलुकले हेरिने र हामीले भित्रबाट ठानिने यो अन्तरले नेपाली शास्त्रीय संगीतकर्मीहरु माझ एक प्रश्नचिन्ह खडा गरिदिएको छ| यस्तो भ्रम हुनुमा न भारतको दोस छ न त बिदेसी श्रोतको नै| यसमा सिर्फ हाम्रै कमीकमजोरी तथा हाम्रो सरकारको यसप्रतिको चासो नराख्नु नै यसको प्रमुख कारणहरु हुन्|
हाम्रो कमीकमजोरी भन्नाले संगीतलाई हामी सधैँ प्रयोगात्मक हिसाबबाट मात्र लिइदै आएका छौ| त्यसैले हाम्रोमा गाउने बजाउनेहरुको संख्याको तुलनामा अध्ययनको बिषयको रुपमा रुचि राख्नेको संख्या ज्यादै कम छ| समय अनुसार यसकोबारेमा खोज, जानकारी, अनुसन्धान, आबिस्कार गर्न नसक्नु हाम्रो कमजोरी हो| यसरी नेपालमा शास्त्रीय संगीतको अध्ययन अनुसन्धानका कमीले गर्दा यसको नेपाली इतिहास, ऐतिहासिक नेपाली कलाकार तथा उनीहरुका कीर्तिहरु आदि इतिहासमै बिलाएर गएका छन् र हामीहरु त्यसको बारेमा जानकारी पाउनबाट बन्चित हुन पुगेकाछौ| यस्ता कमिले गर्दा नेपालमै कतिपय कलाकारहरु ले नै यसको अस्तित्वको बारेमा सही ढंगले बुझिरखेका छैनन जसलेगर्दा विश्वलाई हामीले किन हाल विश्वमा उत्तरभारतीय शास्त्रीय संगीत अथवा हिन्दुस्तानी शास्त्रीयसंगीत भनेर चिनिने संगीतलाई नेपालमा पनि शास्त्रीय संगीतको रुपमा परम्परा बसाल्दै आएको छ भनेर ठोस उत्तर दिन सकिराखेका छैनौ|
यो पङ्ती लेखक आफै पनि एक नेपाली शास्त्रीय संगीतकर्मी भएको हुँदा जापानमा पढाईको अन्तरालमा मैले थुप्रै सांगीतिक कन्सर्टहरु गर्ने मौका पाएँ तर मेरो सामु पनि यस्तै थुप्रै प्रश्नहरु खडा हुनेगर्थे| मैले बजाउने सितार र यसका धुन तथा रागहरु जापानीहरुको लागि सिर्फ भारतीय संगीत झैँ मात्र लाग्थ्यो त्यसैले हरेक पटक मैले कार्यक्रम प्रस्तुत गर्न अगाडिनै उनीहरुकोलागि यो नेपाल र भारतको साझा संस्कृति अन्तर्गत पर्ने संगीत हो भनेर स्पस्टिकरण दिईराख्नुपर्थ्यो र दिइराखेकोछु पनि| तर म मात्र नभई म जस्तै लागिराख्नु भएका नेपालका थुप्रै कलाकारहरुले पनि यस्तै समस्या झेल्नु परेको कुराहरु बिभिन्न पत्रपत्रिकामा दिएका अन्तरबार्ता तथा वहाहरुद्वारा पनि प्रताछे थाहा भइयो| यही कुरा मेरो लागि एक रोचक बिषय पनि बन्न पुग्यो र यो समस्याको मूल जडसम्म पुग्न यसको अध्ययन गर्नु नै पर्ने आवश्यक ठाने| यसै सिलसिलामा अन्तरास्ट्रिय सम्बन्ध बिषयबारेमा ब्याच्युलर कोर्स सकाएपछि मास्टर्स देखि बिध्याबारिधिसम्म `म्युजिकोलोजी` अथवा नेपालीमा भन्नु पर्दा `संगीतशास्त्र` बिषय अन्तर्गत नेपालको शास्त्रीय संगीतको इतिहासको बारेमा अनुसन्धान गर्ने कुरा सोचें| अनि, भाग्यबस टोकियो युनिभर्सिटी अफ फाइन आर्ट्स एण्ड म्युजिक (Tokyo University of Arts Or Tokyo Geijutsu Daigaku) भन्ने विस्वविध्यालयमा अध्ययन गर्ने मौका पाएँ| उक्त विस्वबिद्यालय फाइन आर्ट्स र संगीत बिषयमा जापानकै पुरानो र प्रतिस्थित विस्वबिद्यालयमा पर्दोरहेछ, तेसैलेहोला यहाँ कला तथा संगीतका बिभिन्न बिषय अन्तर्गत जापान लगाएत बिश्वका बिभिन्न्न मुलुकका थुप्रै बिद्यार्थी, कलाकार तथा अनुसन्धानकर्ताहरुको जमघट भैराख्दछ| यसै सिलसिलामा मसंगै अध्ययन गर्ने केहि जापानी साथीहरु तथा विस्वबिद्यालयमा पढाउने प्रोफेसर र संगीत बिशेषज्ञहरु संग सम्पर्क हुने मौका पाए जो भारतीय सरकारको छात्रवृति पाएर भारतको विभिन्न संगीत बिद्यालयहरुमा भारतीय संगीतशास्त्र तथा गायन, बादन आदि अध्ययन गरेर फर्केकाहरु थिए| भारत सरकारको छात्रवृति नपाएको भए सायेदै भारत जान्थे होला भन्ने कतिपयको तर्क थियो| यसरी सरकारको सानो प्रयासबाट त्यस देशको कला संस्कृतिहरु बिदेशी सामुदायमा कसरी प्रचारप्रसार र बिकास हुन्छ भन्ने कुरा यसैसानो उदाहरणबाट पनि बुझ्न सकिन्छ| भारतमा अध्ययन गरेर फर्केका यी जापानी संगीत अनुसन्धानकर्ताहरुले हाल बिभिन्न्न विस्वविध्यालयहरुमा भारतीय संगीत बिषय सम्बन्धी थुप्रै बिद्यार्थीहरुलाई पढाउछन् | यसबाहेक उनीहरुले भारतीय शास्त्रीय संगीत अन्तर्गतका शास्त्रहरु जस्तै राग वर्गीकरण, रागका नियम, भातखण्डेका थाटका त्रुटीहरु , संगीतरस आदि जस्ता शास्त्रीय संगीतका संबेदनशिल बिषयदेखि लिएर सितार, सरोद, तबला, हार्मोनियम जस्ता बाजाहरुको आबिस्कार अनि ध्रुपद, खयाल, भजन, गजल आदिजस्ता गायन शैलीका बारेसम्म पनि थुप्रै थुप्रै लेख, थेसिस,रचना, किताबहरु, जापानीभाषामै लेख्ने या अनुबाद गर्नेगर्छन| तर यो प्रक्रिया जापान मात्र होइन बिकसित यूरोपेली राष्ट्र तथा अमेरिकामा पनि कायम छ| जसरी यिनीहरुले जुन भारतीय संगीत बिषय अन्तर्गत विभिन्न कुराहरु पढाउने, गोष्ठी, भेला, सम्मेलन तथा लेख पुस्तकहरु छपाउने गर्छन ती बिषयहरु तिनै हुन् जुन सानैमा नै हामीले संगीत सिक्दा हाम्रा संगीतगुरुहरुबाट सुन्दै सिक्दै आएका थियौ| तर बिडम्बनाको कुरा हामी लिखित अध्ययनमा भन्दा प्रयोगात्मक संगीत मै केन्द्रित भएकाले त्यस्ता कुराहरुलाई अध्ययनकोरुपमा लिने कुनै वास्ता नै राख्दैन थियौ| किनभने यहाँ संगीत सम्बन्धी उचित अध्ययन गर्नको लागि कुनै त्यस्तो अनुकुल सुबिधा तथा बातावरण नै छैन| त्यसैकारण कलाकारहरु अध्ययन या अनुसन्धानतिर भन्दा गाउने बजाउने मै केन्द्रित हुन बाध्य छन्| शैक्षिक छेत्रका योजना र प्रक्रियाका त्रुटीहरुले गर्दा त्रिभुवनविस्वबिधयालयमा `म्युकोलोजी` बिषय राख्ने नराख्ने भन्ने बिबादमात्रपनि बर्षौ लम्बीराखेको खबर समय समयमा सुन्न पाउछौ| लामो समय देखि देशमा सरकार आफूमै धरासय अवस्था छ र बिजुली, पानी र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुका सबैभन्दा प्राथमिक कुराहरुलाई जुटाउन असक्षम भैराखेको देशमा कला जस्तो सम्बेदनशील बिषयसम्म ध्यान कुन सरकारको होला? त्यसैले त होला यस संगीतलाई जान्न यूरोप, अमेरिका, जापान जस्ता बिकसित राष्ट्रका बिद्यार्थीहरु नेपालमा हैन भारतमा ओइरिने गर्छन| २०औ सताब्दीको ७०,८०,९० का दसकहरुमा भारतमा गई अध्ययन गर्ने बिदेशीबिद्यार्थीहरुको संख्या बढ्दै गए र पछी गएर उनीहरु संगीत अनुसन्धानकर्ता, संगीत विश्लेषक, संगीत विशेषज्ञ, संगीत प्रोफेसरको रुपमा विश्वभरिकै विस्वबिध्यालयहरुमा छरियर रहे| उनीहरुद्वारा भारतीय संगीत सम्बन्धी अंग्रेजी लगायत थुप्रै भाषामा अनगिन्ती पुस्तकहरु प्रकासित भएका छन्| स्वयं भारतमै यस्ता थुप्रै संगीतअनुसन्धानकर्ता हरुको जन्म भएको छ| यसरी हाल प्रयोगात्मक रुपमा मात्र नभई अध्ययनको बिषयकोरुपमा पनि भारतीय शास्त्रीय संगीत विस्वकै संगीतबिशेषज्ञहरुको माझ केन्द्रित भएरबसेको छ | तर यही शास्त्रीय संगीतका गतिबिधिहरु जुन नेपालमा हुदै आइराखेको छ र भैराखेकोछ ती कुराहरुको बेवास्ता भैराखेका छन्| नेपालले यसको बिकासका लागि खेलेका ऐतिहासिक भूमिकाहरुको बिषयमा कसैको बिश्लेषण गरेकाछैनन, कसैको ध्यान पनि केन्द्रित भएको पाइन्दैन| भारतीय शास्त्रीय संगीत भन्नाले भारतकै मात्र संगीत भन्ने बुझ्दै आइराखेकोछ| नामले मात्रै भारतीय संगीत सुनेपनि उत्तर भारतसंग जोडिएको देश नेपालमा पनि शास्त्रीय संगीतको रुपमा परम्परा कायम हुदै आइरेकोछ भन्ने लेख बिरलै पाइन्छ|
सन् १९९०मा जातीयसंगीत शास्त्रका अमेरिकी प्रोफेसर Daniel M. Neuman ले प्रकाशित गरेका पुस्तक The life of music in north India: the organization of an artistic tradition भन्नेमा, पुस्तकको कभर नै सन्१९०० सालमा बीर सम्शेरको पालामा बीरसम्शेरद्वारा आयोजित बिरगंजको बगेडीमा भएको संगीत सम्मेलनको फोटो थियो जसमा थुप्रै भारतीय उस्तादहरु लहरै बसिराखेको देख्न सकिन्छ| नेपाल सरकारले नेपाली भूमिमा आयोजना गरेको उक्त बिशाल संगीत सम्मेलन उत्तर भारतीय संगीत इतिहास कै एक महत्वोपूर्ण सम्मेलन थियो तर यस बारेमा उक्त पुस्तक भित्र खासै केहि बिबरण लेखेको पाइन्दैन जबकि पुस्तकको कभर नै उक्त सम्मेलनको थियो| यस पुस्तक उत्तरभारतीय संगीत परम्परा र भारतीय कलाकारहरुका बारेमा लेखिएकोछ| तर पुस्तकको कभरको रुपमा उक्त फोटो राख्नु भनेकै नै लेखकले पनि उक्त सम्मेलन र तस्बिरलाई महत्वोपूर्ण रुपमै लिएको हुनुपर्छ बरु नेपाली संगीत इतिहासकोबारेमा पर्याप्त सूचनाको आभावले यसबारेमा पर्याप्त उल्लेख गर्न नसकिएको मात्र हो| अध्ययनको सिलसिलामा मैले यस्ता हिन्दुस्तानी शास्त्रीय संगीत सम्बन्धी बिदेशी पुस्तकहरु भेट्टाए जहाँ नेपालमा भएका सांगीतिक गतिबिधिका कुराहरु थोरै भएपनि समेट्ने कोशिस गरिएका छन्| तर बास्तबमा बाहिरी मुलुकका अनुसन्धानकर्तामा भन्दा हाम्रो संगीत इतिहासको अध्ययनको जिम्मा हामी मै हुनुपर्दर्छ| यदि अहिले नै यसको नेपालमा भएको इतिहास सम्बन्धी सूचना, बिबरण या जानकारीहरु बिस्तृत रुपमा प्रचारप्रसार गर्न सकेमा बल्ल हामी विश्वसामु शास्त्रीय संगीतको नाम नेपालसंग जोडिन सक्षम हुन सक्छौ नभए हामी हाम्रो यो सम्पदालाई सधैँ भारत कै नामबाट मात्र जोडिएको देख्न पाउनेछौ|
भारतको दाँजोमा छेत्रफल र जनासख्यको हिसाबले नेपाल धेरै सानो छ | त्यसमाथि अहिले यहाँ शास्त्रीय संगीतका गतिबिधिहरु ज्यादै सिमित ठाउँहरुमा मात्र हुनेगर्छन् र बास्तबमै भन्नु पर्दा ब्यबसायीक रुपमा लाग्ने हरुको संख्या त ज्यादै नै कम छ| यसरी संख्यामा कम हुनुका कारण प्रतिस्पर्दा पनि कम हुने भएकोले सक्षम कलाकार पनि थोरै मात्र निस्किने गर्छन| त्यसमाथि पुराना संगीत गुरुहरू बर्सैपिच्छे दिवङगत हुदै जानुका कारण नेपालमा शास्त्रीय संगीत नै बिस्तारै लोप हुदै जाने या यसको स्तरमा कमी आउदै जाने भन्ने समस्या पनि देखा पर्न थालेकोछ| यस्तो अवस्थामा आउदो पिदी र विश्वलाई नेपालको शास्त्रीय संगीतको अस्तित्व र पहिचान दिलाउन हामी प्रयोगात्मक र अध्ययन दुबैमा उतिकै सतर्क हुनपर्ने अवस्था आइसकेको मलाई लाग्छ| भारतको छेत्रफल र जनसन्ख्या दुवैमा निकै ठुलो छ र त्यस अनुसार त्यहाँ अनगिन्ती शास्त्रीय संगीतका कलाकार तथा विशेषज्ञहरु जन्मनु स्वाभाविक कुरा हो| त्यसैअनुसार त्यहाँ प्रतिस्पर्दा पनि निकै ठुलो छ जसको फलस्वरूप हरेक वर्ष राम्रा योग्य कलाकारहरु पनि थुप्रै उत्पादन हुने गर्छन| यस्ता कलाकारहरु विश्वभरिनै संगीत यात्रा गर्ने गर्छन र भारतीय कलाकारको हैसियतले भारतीय संगीतको रुपमा प्रचार गर्छन् जसले गर्दा नेपालको नाम दबिने गर्छन| यो किसिमले दबिएर भारतलाई दोस दिनु हाम्रो कमजोरी हुन आउछ| भारतको ठाउँमा हामी भैदिएको भए हामीले पनि सायद आफ्नो मात्र सोच्थ्यौ होला| छिमेकी देश भएको कारणले गर्दा राजनीतिक कुराहरुमा हामी भारतद्वारा धेरै कुरामा पिडित छौ| त्यसलाई विभिन्न कुरासंग जोडेर शत्रुताको नाता जोड्नु पनि हामीमा कतै कतै पाइन्छ| यस्तै कुराहरुको प्रभावले होला नेपालमा पास्चात्य पप संगीतमा आकर्षित हुने कतिपय युवाहरु भारतीय संगीत भनेपछि घृणा गर्नेगर्छन जसलाई थाहा छैन की त्यसो गर्नु भनेको आफ्नै संस्कृतिको इज्जत नगर्नु हो| हामी हाम्रो कमजोरीलाई छोपेर भारतलाई दोष दिन शिपालु छौ| तर कला र संस्कृति भनेको राजनीति भन्दा धेरै माथिको कुरा हो जसले बिश्वकै सम्पूर्ण मानिसलाई एकै सुत्रमा बाँध्न सक्छ| भारत त झन हाम्रो यस्तो छिमेकी देश हो जुन देशसंग हाम्रो सिमानाहरु निर्धारण हुनुभन्दा पनि जुगौं अगाडीदेखि नै धर्म, संस्कृति, रहनसहन आदीइत्यादिसंग सम्बन्ध जोडिएकोछ र शास्त्रीय संगीत त्यसैबाट निस्केको एउटा हाँगा हो जुन दुवै देशको संस्कृतिकोरुपमा प्रतिनीधि गर्ने एक कला हो |अझ भन्ने हो भने नेपाल भारत मात्र नभई, भारतबाट पाकिस्तान टुक्रेपछी र पाकिस्तानबाट बंगलादेश टुक्रेर स्वतन्त्र भएपछी बंगलादेश र पाकिस्तान पनि शास्त्रीय संगीतको उतिकै हकदार छ| तर विश्वमा भने भारत कै संगीतको रुपमै मात्र यसले अधिपत्य जमाइराख्न सक्षम भएकोछ|
यसरी आज जुन हिन्दुस्तानी शास्त्र्यसंगीत विश्वसामु भारतको प्रिनिधित्व गर्दै केन्द्रित भएर बसेको छ , उही संगीत जुन धेरै पनि भएको छैन जुन कुनै जमानामा हाम्रै राजधानी काठमाडौ यसको केन्द्रबिन्दुको रुपमा प्रख्यात थिए| न त्यतिबेला यस संगीत विश्वको ध्यानमा केन्द्रित थिए न कुनै बिदेशीलाई चासो| बरु भारतमा यो संगीत त्यो समयमा आफै ओझेलमा पर्दै गएको थियो|
कुरा १९औ सताब्दीको अन्तिम तिरको हो| भारत अंग्रेजहरुको सिकार हुदैगईराखेको थियों| जब सन्१८५७मा भारतमा सैनिक बिद्रोह भए र त्यो भारतकालागि बिफल साबित भए तत्पस्चात भारत सिधै अंग्रेजको अधीनमा फसेको थियो| विभिन्न प्रान्तमा शासन चलाइराखेका हिन्दु राजा,महाराजा तथा मुसलमान नवाबहरु पलायन भएर गए | यसको प्रत्यक्ष असर शास्त्रीय संगीतमा देखियो| कारण शास्त्रीय संगीत संधै कुनै न कुनै शासकहरुको संरक्षणमा हुन्थ्यो| त्यतिबेलाका शास्त्रीय संगीतका कलाकारहरु राजाश्रय पाएर बसेका हुन्थे र दरबारमा उनीहरुको ठुलो पद र इज्जत हुन्थे| त्यसैले त बिभिन्न्न समय काल हरुमा शासक तथा सरकारहरुको पलायन तथा उदयसंग शास्त्रीय संगीतको प्रत्यक्ष सरोकार हुन्थ्यो| कलाकारहरु पलायन हुदैगैरहेको शासकबाट उदाउदै गरिराखेको शासकतिर संरक्षण तथा आश्रयका लागि सर्दै जान्थ्यो| जस्तै १३औ सताब्दीदेखि दिल्लीकेन्द्रित सरकार दिल्ली सुल्तानेट, १६औ सताब्तीदेखि दिल्ली, आगरा केन्द्रित मुगल साम्राज्य र मुगल सासन पनि बिस्तारै पलायन हुदै गएपछी १८औ सताब्दीको अन्तिमतिर उत्तरभारतका बिभिन्न प्रान्तहरुका राज्यहरु उदाउन थाले जहाँका दरबार, महलहरुमा कलाकारले फेरि राजाश्रय पाएका थिए | यसरी इतिहासमा शास्त्रीय संगीतले क्रमबद्धरुपमा राजाश्रय पाउदै जानु नै उत्तरभारतीय संगीत पनि क्रमबद्धरुपमा बिकास हुदै जानुको मुख्य कारण थिए| तर एक्कासी सन् १८५७ पछिको अंग्रेजविरुद्दको गदर असफल भएपस्चात सबै प्रान्तीय सासकहरु निस्क्रिय हुदै गए जसको कारण शास्त्रीय संगीतले कुनै शक्त्तिबाट राम्रो संरक्षण नपाएर भौतारिरहनुपरेको थियो| तर पनि शास्त्रीय संगीतको अस्तित्व, परम्परा अनि कलाकारहरुले आफ्नो आर्थिक स्थितिलाई जोगाइराखन कतिपय कलाकारहरु दरबारबाट सडक, कोठी, भट्टी,बेस्याबृतिको छेत्रमा समेत संगीतको उपयोग गर्न बाध्य भए| कोठीमा नाच्ने तबायफ देखि थिएटर तथा सडकमा नाच्ने नौटंकीहरुलाई सिकाउनु पर्ने र उनीहरुसंग गाउन बजाउन पर्ने अवस्था आयो| यसरी भारतीय समाजमा यसले नकारात्मक प्रभाब पार्न थालिरखेको थियो जसको कारण समाजमा यसलाई हेर्ने दृष्टिकोण नै फरक भैसकेको थियो| त्यस्तो अवस्थामा नेपालमा भने त्यसबेला राणा सासकहरुले यसलाई दरबारमा आश्रय दिएर शास्त्रीय संगीतकर्मीहरुको नाजुक अवस्थालाई आशाको दियोमा परिणत गरिदिएका थिए| नेपाल त्यतिबेला राजनैतिक हिसाबबाट स्थिर र बलियो थियो भने अंग्रेजसंग बलियो सम्बन्ध गाँसेका थिए| सन् १८८५ पछी बीरसम्सेरकोको पालामा त नेपालमा भारतबाट एक्कासी हुरी आए झैँ गरी शास्त्रीय संगीतकर्मीहरुको जमात नै भेला हुन थाले| बीरसम्सेरको दरबारमा मात्र नभई उनका भाइ भारदारहरूका दरबारमा समेत भारतीय संगीतका ऐतिहासिक कलाकारहरु मानिने त्यतिबेलाका भारतीय संगीतकर्मीहरुले आश्रय पाएका थिए भने दिनहुँ कुनै न कुनै दरबारमा संगीत जल्सा भैरहन्थ्यो| भारतीय संगीतको बिकासका बारेमा अध्ययन गर्ने अन्तरास्ट्रिय संगीत बिशेषज्ञहरुलाई त्यो समयमा नेपालमा कलाकारहरुलाई दिएका राजाश्रयको बारेमा सायदै ज्ञान होला र थाहै भए पनि त्यस्को महत्व त्यति नबुझेको हुनुपर्छ किनभने यसको इतिहासका पानाहरुमा भारतको भूमिका मात्र लेखेको पाइन्छ, नेपालको भूमिकाको बारेमा त्यति लेखेको पाइन्दैन| तर मेरो अध्ययनले शास्त्रीय संगीतको त्यो १९औ सताब्दीको सम्बेन्दंशील अवस्थामा, नेपालमा जतिपनि शास्त्रीय संगीत भेलाहरु भए, कलाकारहरुले दरबारी आश्रय पाए, नयाँ कलाकारहरु जन्मिए, राणासासकहरुको संरक्षणबाट जुन हौसला तथा प्रोत्साहन उनीहरुले पाए ती सबै कुराहरुले त्यसपछिका सांगीतिक विकासक्रमलाई जोड्न मद्दत गराए जसले गर्दा हाल उत्तरभारतीय शास्त्रीय संगीत आज विश्व मै परिचित छ जसमा नेपालको भूमिका पनि उल्लेखनीय छ भनेर प्रस्ट पार्न सानो प्रयास गर्न खोजेको छु|
राणाशासनको पतन संगै शास्त्रीय संगीतले फेरि नेपालको राजाश्रय गुमाउनु पर्यो| नेपालमा विक्रम सम्बत् २००७साल यानी सन् १९५१ पछी रेडियो नेपालको स्थापनासंगै आधुनिक गीतले बढी प्रख्याति पाउदै गए भने शास्त्रीय संगीत चाहिँ फेरि भारततिर नै ओर्लेर जान थाले र नेपालमा बिस्तारै यसको प्रभाव घट्दै जान थाले| उता भारतमा भने सन् १९४७ सालमा स्वतन्त्रता आइसकेको थियों र उनीहरुले यसको महत्व पनि बुझिसकेका थिए| र योतिन्जेलसम्ममा भारतीय संगीतबिद्धवान बिष्णुनारायण भात्खंडेले त लिखितरुपमा शास्त्रीयसंगीतलाई आधुनिक ढंगले शास्त्रीयकारणमात्र हैन भारतीयकारण नै गर्न भ्याइसकेका थिए | तेसपछी प्रयोगात्मक हिसाबले पनि १९६०को दसकतिर रविशंकर जस्ता कलाकारको उदय र उनको पश्चिमी देशमा भारतीय संगीतको प्रचारप्रसारको सुरुवातले गर्दा थुप्रै भारतीय संगीतकर्मीहरुले समेत पश्चिमेली राष्ट्रहरुमा गएर अनगिन्ती सांगीतिक कार्यक्रम मौका पाए भने बिदेसी शिष्यहरु समेत बनाउन भ्याइसकेका थिए| यसरी भारतीयहरुले पुर्याइसकेको बजारमा अहिले हाम्रा कलाकारहरुले यही संगीत प्रस्तुत गर्दा यसलाई भारतीय संगीत मात्र हो भनेर ठान्ने त स्वभाविकै भयो |
यसरी विश्वमा देखिएका भ्रमहरुलाई हटाउदै लैजानु हाम्रै कोशिशहरुमा निर्भर गर्दछ| त्यसैले बिदेशमा कार्यक्रम प्रस्तुत गर्दा, कार्यक्रम अगाडी यी कुराहरुलाई छोटकरीमा बुझ्ने गरी सम्झाइयो वा ब्याख्या गरियो भने बिदेशीहरुले पक्कै पनि यसलाई नेपाली शास्त्रीय संगीतको रुपमा हेर्नेछ | लिखित रुपमा पनि हामीले बिभिन्न माध्यमबाट यहाँ भएका शास्त्रीय संगीतसम्बन्धी हुने गतिबिधिहरुलाई प्रचारप्रसार गर्दै लाने कोशिस गर्दै गरेमा पक्कै पनि एकदिन विश्वले कुनै भ्रम बिना यस शास्त्रीय संगीतलाई नेपालको पनि सम्पदा, संस्कृति र कलाको रुपमा सजिलै बुझ्नसक्नेछन्|
(मैले माथि उल्लेख गरेको इतिहास नेपाल भारतको आधुनिककाल भित्र पर्दछ| मध्यकाल तथा प्राचीनकालका पनि आफ्नै इतिहास छन जसमा पनि शास्त्रीय संगीत हाम्रो माटो र संस्कृतिसंग जोडेको हामीले पाउन सक्छौं|)